धादिङ । जिल्लामा किटजन्य रोगको प्रकोप बढ्दै महामारीको रूप लिन थालेको चिकित्सकहरूले बताएका छन्। डेंगीभन्दा बढी स्क्रबटाईफसका बिरामी भेटिन थालेका जिल्ला अस्पतालका डा. दिनेश रेग्मीले बताए।
अस्पतालका अनुसार दैनिक सात–आठ जना स्क्रबटाईफस वा डेंगी संक्रमित बिरामी भर्ना भइरहेका छन्। सामान्यतया २०० जति बिरामी आउने अस्पतालमा हाल दैनिक ५०० जति बिरामी उपचारका लागि आउने गरेका छन्, जसमा ३०–३५ प्रतिशत किटजन्य रोगका बिरामी हुने गरेका छन्।
भाद्र महिनादेखि मात्रै १४ जनामा स्क्रबटाईफस र पाँच जनामा डेंगी पुष्टि भएको छ। उच्च ज्वरो, टाउको दुखाइ र शरीर दुखाइजस्ता लक्षण धेरै बिरामीमा देखिएको छ।
चिकित्सकहरूले सरसफाइमा ध्यान दिने, लामखुट्टे र किर्ना नष्ट गर्ने, झाडी हटाउने जस्ता उपाय अवलम्बन गर्न आग्रह गरेका छन्। उनीहरूका अनुसार सरोकारवाला निकायले अभियान नचलाउँदा प्रकोप अझ बढेको हो।