वीरगञ्ज । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले वीरगञ्ज र आसपासमा फैलिएको हैजा नियन्त्रणका लागि अत्यावश्यक औषधि र जनशक्ति तुरुन्त उपलब्ध गराउनुपर्नेमा जोड दिए।
आज नारायणी अस्पतालमा हैजा प्रभावित बिरामी तथा आफन्तहरूसँग भेटघाट गरी अस्पताल प्रशासनसँग छलफलपछि उनले बिरामीको उपचारमा कुनै कमी–कमजोरी नहुने गरी स्वास्थ्य सेवा सुनिश्चित गर्न आग्रह गरे।
“हैजाको उपचारका लागि आउने बिरामीले निःशुल्क र गुणस्तरीय सेवा पाउनुपर्छ। त्यसका लागि अस्पतालले औषधि, खोप र जनशक्ति पर्याप्त रूपमा व्यवस्था गर्न जरुरी छ,” महामन्त्री थापाले भने। उनले काठमाडौँ फर्किएपछि स्वास्थ्य मन्त्रालय र सम्बन्धित निकायसँग समन्वय गरेर आवश्यक औषधि तथा सहयोग जुटाउने प्रतिबद्धता पनि व्यक्त गरे।
अस्पतालको सरसफाइप्रति विशेष चासो व्यक्त गर्दै उनले यसलाई केवल परिसर वा शौचालय सफाइको सवाल मात्र नभई सुशासन र व्यवस्थापनसँग सम्बन्धित बहुआयामिक विषय भएको बताए। उनका अनुसार, निजी अस्पताल र सरकारी अस्पतालबीच सरसफाइमा देखिने फरक नै यहाँको प्रमुख समस्या हो।
थापाले नारायणी अस्पताललाई वीरगञ्ज र आसपासका बासिन्दाको भरोसाको केन्द्रका रूपमा विकास गर्न सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिए। साथै, अस्पतालको पूर्वाधार निर्माणमा देखिएका चुनौती समाधान गर्न आफू आवश्यक सहयोग र समन्वय गर्न सधैं तयार रहेको स्पष्ट पारे।