पर्सा । गृहमन्त्री रमेश लेखकले वीरगञ्जमा फैलिएको हैजा नियन्त्रणमा सरकार पुरै तत्पर रहेको बताए। शनिबार राति नारायणी अस्पताल पुगेर बिरामीहरूको स्वास्थ्य अवस्था बुझ्नुभएका मन्त्री लेखकले “नागरिकको ज्यान जोगाउनु अहिले सरकारको पहिलो प्राथमिकता” रहेको प्रष्ट पारे ।
उनले भने, “हैजाको प्रकोप देखिएको छ, औषधि र चिकित्सकको अभाव हुन दिने छैनौँ । नर्सिङ स्टाफ र आवश्यक जनशक्ति उपलब्ध गराउनका लागि तुरुन्त समन्वय भइरहेको छ ।”
हैजाबारे व्यापक सतर्कता आवश्यक भएको भन्दै उनले अस्पतालसँग उपलब्ध स्रोतसाधन प्रयोग गरेर उपचार प्रभावकारी ढङ्गले अघि बढाइएको जानकारी दिए । “अहिले हैजाका बिरामीको सङ्ख्या घट्दै गएको छ, उपचारपछि घर फर्किने बिरामीहरूको सङ्ख्या पनि उल्लेखनीय रूपमा बढेको छ,” उनले बताए ।
गृहमन्त्री लेखकले अस्पतालमा उपचाररत बिरामी तथा आफन्तसँग भेटघाट गरेर मनोबल बढाउँदै सरकार प्रकोप नियन्त्रणमा सबै तह र तहमा सहजीकरण गर्दै अघि बढिरहेको जनाए ।