काठमाडौँ । प्रा.डा. गोविन्द केसीले आफ्नो २३औँ अनसन कैलालीको गेटाबाट सुरु गरेका छन्। उनले यसपटक तीन दिनको सत्याग्रह घोषणा गर्दै चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा सुधारका लागि चार बुँदे माग अघि सारेका छन्।
उनका प्रमुख मागमा निजी मेडिकल कलेजका लागि बढाइएको एमबीबीएस र बीडीएस सिट फिर्ता लिनुपर्ने, शुल्क नबढाउनुपर्ने, इलाम, उदयपुर, डडेलधुरा र गेटामा सरकारी मेडिकल कलेज तथा अस्पताल संचालन गर्नुपर्ने र अघिल्ला सम्झौता कार्यान्वयन गर्नुपर्ने रहेका छन्। उनले प्रधानमन्त्रीको प्रत्यक्ष दबाबमा निजी मेडिकल कलेजको सिट वृद्धि भएको भन्दै सो निर्णय खारेज गर्न माग गरेका छन्।
साथै, लिपुलेकको अतिक्रमण रोक्न भारतसँग माग गर्दै अतिक्रमित भूमि फिर्ता गर्न नेपाल सरकारलाई आग्रह गरेका छन्। युक्रेन र गाजामा भइरहेको युद्ध अन्त्य गर्न रुस र इजरायललाई समेत अपिल गरेका छन्।
डा. केसीले चेतावनी दिँदै भनेका छन्, “गलत निर्णय फिर्ता नगरे र सम्झौता कार्यान्वयन नगरे स्वास्थ्य शिक्षा र सेवाको गुणस्तरमा गम्भीर संकट आउनेछ।”