काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले चलचित्रकर्मीलाई स्वास्थ्यप्रति सचेत रहन र नियमित परीक्षण गर्न आग्रह गरे । चलचित्र विकास बोर्डद्वारा आयोजित ‘विशिष्ट चलचित्रकर्मी वितरण समारोह’मा उनले अनुशासित जीवनशैली अपनाउन कलाकारलाई प्रेरित गर्नुपर्ने बताए ।
उनले विशिष्ट चलचित्रकर्मीलाई रु १ लाख ५० हजार र सामान्य चलचित्रकर्मीलाई रु ७५ हजार बराबरको स्वास्थ्य बीमा सुविधा उपलब्ध गराइने घोषणा गरे ।
कार्यक्रममा ३० वर्षभन्दा बढी समय चलचित्र क्षेत्रमा योगदान गरेका ८६ जना कलाकारलाई परिचयपत्र प्रदान गरिएको थियो । बोर्ड अध्यक्ष दिनेश डिसीले यो राज्यको औपचारिक पहिचान भएको उल्लेख गर्दै आगामी दिनमा थप सुविधा जोडिने जानकारी दिए ।
सचिव राधिका अर्यालले नयाँ चलचित्र नीतिले कमजोरी सम्बोधन गर्ने बताउँदै नेपाली चलचित्र उद्योग अन्तर्राष्ट्रिय स्तरमा पुग्ने विश्वास व्यक्त गरे ।