वीरगन्ज । वीरगन्जसहित पर्साका विभिन्न ठाउँमा हैजा र झाडापखालाका बिरामी देखिएका छन्। स्वास्थ्य कार्यालयका अनुसार अहिलेसम्म ८२१ जना बिरामी भर्ना हुँदा ६२२ जना निको भएर घर फर्किएका छन् भने १९९ जना उपचाररत छन्। शनिवार मात्र ३१ जना नयाँ बिरामी थपिएका छन्।
स्वास्थ्य अधिकारीहरूले अहिले यो अवस्थालाई महामारी भन्न नसकिए पनि उच्च सतर्कता आवश्यक रहेको बताएका छन्। बिरामी बढ्न थालेपछि अस्पतालहरूमा छुट्टै वार्डको व्यवस्था गरिएको छ।
नारायणी अस्पतालका डा. उदयनारायण सिंहका अनुसार खासगरी बालबालिका र गर्भवती महिलाहरू बढी प्रभावित भएका छन्। हाल भने बिरामीको संख्या पहिलेभन्दा घट्दो क्रममा छ।
सुरक्षात्मक उपाय स्वरूप औषधि र किट पर्याप्त मात्रामा पठाइएको र सचेतना अभियान चलाइरहेको अधिकारीहरूले जनाएका छन्। २०७२ सालमा पनि वीरगन्जमा हैजाको प्रकोप देखिएको भए पनि यस पटक विशेष सतर्कता अपनाइएको छ।