भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले एकै व्यक्तिमा तेस्रो पटक मिर्गौला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरेको छ।
भदौ ९ गते सुदूरपश्चिमका पूर्वमन्त्री लक्ष्मण किशोर चौधरीको तेस्रो प्रत्यारोपण डा. पुकारचन्द्र श्रेष्ठको नेतृत्वमा ‘पेयर एक्सचेन्ज’ प्रणालीमार्फत गरिएको हो। आज उनलाई डिस्चार्ज गरिएको छ। चौधरीको पहिलो मिर्गौला प्रत्यारोपण भारतको लखनऊमा गरिएको थियो भने विसं २०७२ मा दोस्रो र हाल तेस्रो प्रत्यारोपण सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा डा पुकारचन्द्र श्रेष्ठकै नेतृत्वमा गरिएको हो ।
डा. श्रेष्ठका अनुसार तेस्रो पटकको प्रत्यारोपण विश्वभर नै दुर्लभ मानिन्छ, तर यसले नेपालमै जटिल प्रत्यारोपण सम्भव भएको उदाहरण प्रस्तुत गरेको छ। केन्द्रले स्थापना भएदेखि अहिलेसम्म १,५०२ मिर्गौला र ३५ कलेजो प्रत्यारोपण गरिसकेको छ।