काठमाडौं । नयाँ पुस्ताका युवाहरू, जेन–जीले सञ्चालन गरेको आन्दोलनमा प्रहरीले चलाएको गोलीका कारण सोमबार मात्रै १९ जनाको मृत्यु भएको पुष्टि भएको छ। राजधानीका प्रमुख अस्पतालहरूमा ४०० भन्दा बढी घाइतेको उपचार जारी छ।
त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा २९ बिरामी भर्ना भएका थिए । जसमध्ये ६ जनालाई डिस्चार्ज गरिसकिएको छ । एक जनाको मुटुमा समस्या देखिएर मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा रेफर गरिएको छ । दुई जनाका् अवस्था गम्भीर रहेको छ । ६ जनालाई शल्यक्रिया गर्नुपर्ने देखिएको अस्पताले जनाएको छ । भने, ‘दुई जनाको शल्यक्रियाको आजको लागि तयारी रहेको र अन्य बिरामीको शल्यक्रिया भने एक दुई दिनमा गर्ने तयारी भएको अस्पताले जानकारी दिए । सबै बिरामी १६–३२ वर्ष उमेर समूहका हुन्।”
आन्दोलनकै क्रममा घाइते भएका २४ जनाको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको छ । सोमबार भर्ना भएका उनीहरुलाई आईसीयूमा राखरे उपचार गरिरहेको अस्पतालले जनाएको छ । ‘उपचार भइरहेका मध्ये ७ जना आईसीयूमा छन् । उनीहरुको अवस्था जटिल छ ।
प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर घाइते भएका ४०० बढीको उपचार भइरहेको छ । जसमध्ये ट्रमा सेन्टरमा उपचार गराइरहेका ११ जनाको अवस्था गम्भीर रहेको छ । अस्पतालका अनुसार ३० जनाभन्दा बढीको शल्यक्रिया गर्नुपर्ने भएको छ । अस्पतालले मंगलबार ओपीडी र नियमित शल्यक्रिया बन्द गरेर प्रर्दशनमा घाइते भएको उपचार गर्ने तयारी गरेको छ । सोमबार राति ११ जनाको अप्रेशन गरिएको थियो ।
अस्पतालहरूको अवस्था युद्धस्तरको आपतकालीन अवस्थामा पुगेको छ। सबै चिकित्सकहरूलाई आकस्मिक सेवामा खटाइएको छ भने, अस्पतालहरू सामान्य सेवा बन्द गरेर आन्दोलनमा घाइते भएकाहरूको ज्यान जोगाउन केन्द्रित छन्।