काठमाडौँ । जेन–जी पुस्ताको देशव्यापी आन्दोलनले मुलुकका स्वास्थ्य सेवासमेत प्रभावित पारेको छ। राजधानीको नयाँबानेश्वर क्षेत्रबाट सुरु भएको प्रदर्शन अहिले देशभर फैलिएको छ।
आन्दोलनकारीको आगजनीमा गम्भीर घाइते भएकी नेकपा एसका नेता झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्य अवस्था सुधार हुँदै गएको छ।
सिभिल अस्पतालले बिरामीको अत्यधिक चापका कारण आकस्मिक बाहेकका सेवा बन्द गरेको छ। हाल अस्पतालमा घाइते भएका ३९ जनाको उपचार भइरहेको छ। निर्देशक डा। मोहनचन्द्र रेग्मीका अनुसार, “जनशक्ति व्यवस्थापन चुनौतीपूर्ण छ, ओपिडी र ओटी सेवा हाललाई बन्द गरिएको छ।” प्रदर्शनका क्रममा घाइते भएका ३५ जनाको शल्यक्रिया अस्पतालमा सफलतापूर्वक सम्पन्न भएको छ।
त्रिवि शिक्षण अस्पतालमा हाल ५३ घाइतेको उपचार भइरहेको छ। अस्पतालका निर्देशक डा। सुवास आचार्यका अनुसार, “रेफर बिरामीहरूको उपचार जारी छ, तर मुख्य शल्यक्रिया हाल रोकिएको छ।”
राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत ५८ जनामध्ये ८ जना भने आइसीयूमा रहेका छन्। एक एम्बुलेन्स तोडफोड भएको भए पनि सेवा रोकिएको छैन, डा। बद्री रिजालले जानकारी दिए।
परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले भने सबै सेवा नियमित सञ्चालनमा राखेको छ। निर्देशक डा। श्रीप्रसाद अधिकारीका अनुसार, “पेइड सेवा बाहेक सबै सेवा जारी छ।”