काठमाडौं । स्टार अस्पताल लिमिटेडका चिकित्सक र कर्मचारीहरू लामो समयदेखि काम गरेबापतको पारिश्रमिक नपाएपछि शान्तिपूर्ण आन्दोलनमा उत्रिएका छन्। उनीहरूले २०८२ साल साउन २६ गतेदेखि जारी राखेको आन्दोलन आज २८ औँ दिनमा प्रवेश गरेको छ।
आन्दोलनरत कर्मचारी र चिकित्सकहरूले जारी गरेको अपिलमा भनिएको छ कि उनीहरूले विगत १ वर्षदेखिका चिकित्सक र ६ महिनादेखिका अन्य कर्मचारीहरूका तलब तथा सेवा सुविधा नपाएको स्पष्ट उल्लेख छ। यसबाहेक, कर्मचारी सञ्चय कोषको १५ महिनाको रकम, ऋण कोषको ६ महिनाको जम्मा, टी.बी.एच. (TBH) को दुई वर्षको, साथै स्टार अस्पतालअन्तर्गत संचालित मोर्डन टेक्निकल कलेजका कर्मचारीहरूको १ वर्षको तलब र स्टार नुवाकोट अस्पतालका ८ महिनाको भुक्तानीसमेत रोकिएको जनाइएको छ।
श्रम कार्यालय टेकुमा पटक–पटक उजुरी दिइएपनि व्यवस्थापनले लिखित सहमति कार्यान्वयन नगरेपछि श्रमिकहरू आन्दोलनमा उत्रिन बाध्य भएको उनीहरूको भनाइ छ। श्रम कार्यालयले समेत २०७८-१२-२८ मा अस्पतालको बैंक खाता, अचल सम्पत्ति कारोबार र शेयर कारोबार रोक्का गर्ने निर्णय गरेको थियो। पछि त्रिपक्षीय सहमतिअनुसार बैंक खाता खोलिए पनि सहमति कार्यान्वयन नभएपछि आन्दोलन सुरु गरिएको आन्दोलनरत पक्षको दाबी छ।
आन्दोलन समितिका अनुसार, व्यवस्थापक वार्ता र सहमति कार्यान्वयनप्रति गम्भीर नहुँदा समस्या समाधानमा ढिलाइ भएको हो। “हामी वार्ता र छलफलबाटै समाधान चाहन्छौँ तर पारिश्रमिकजस्तो न्यायिक विषयलाई पनि व्यवस्थापनले अवहेलना गर्नु दुःखद छ,” विज्ञप्तिमा उल्लेख गरिएको छ।
आन्दोलनमा रहेका चिकित्सक तथा कर्मचारीहरूले व्यवस्थापनको हेपाहा प्रवृत्तिको विरोध गर्दै प्रतिवादमा उत्रिने निर्णयसमेत लिएका छन्। यस्तै, विभिन्न मानव अधिकारवादी संस्था, पत्रकार, राजनीतिक दल, र न्यायप्रेमी समुदायलाई व्यवस्थापनलाई वार्ता र समाधानमा ल्याउन पहल गर्न अपिल गरिएको छ।
“पारिश्रमिक नपाएसम्म हाम्रो शान्तिपूर्ण सङ्घर्ष जारी रहनेछ,” विज्ञप्तिमा भनिएको छ। संघर्ष समिति आन्दोलनको स्वरूप तय गर्दै लगिने जानकारी समेत दिएको छ।
संघर्षरत पक्षले अन्ततः समस्या समाधानका लागि कानुनी प्रक्रिया, सहमति, र छलफलमार्फत अघि बढ्न तयार रहेको तर व्यवस्थापनबाट सकारात्मक संकेत नआउँदा आन्दोलनमा बस्न बाध्य भएको बताएको छ।