काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्क्रमणकालीन समस्याको समाधान संविधान र संसद्को चौकटीभित्रै खोजिनुपर्ने बताएका छन्। आज जारी वक्तव्यमा प्रचण्डले प्रतिगमनकारी शक्तिले फाइदा उठाउने खालका निकासले लोकतान्त्रिक उपलब्धि उल्ट्याउने चेतावनी दिएका छन्।
उनले ‘जेन–जी’ आन्दोलनले उन्नत लोकतन्त्रको माग गरिरहे पनि त्यसमा प्रतिगामी तत्वले घुसपैठ गरी तोडफोड, आगजनीजस्ता गतिविधि गरिरहेको बताए। “लोकतन्त्रको विकल्प अझ सुदृढ लोकतन्त्र नै हो,” प्रचण्डको भनाइ छ।
‘जेन–जी’ आन्दोलनले यथास्थितिवाद र तदर्थ शासन व्यवस्थाको साटो उन्नत लोकतन्त्रको माग गरिरहेको बताउँदै अध्यक्ष दाहालले जनताका वास्तविक एजेन्डालाई आन्दोलनमा घुसेर प्रतिगामी तत्वहरूले तोडफोड, आगजनी र विध्वंसमार्फत अपहरण गर्न खोजिरहेको आरोप लगाए।
“हाम्रो स्पष्ट मत छ, लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र, गणतन्त्रको विकल्प अझ सुदृढ गणतन्त्र मात्र हो,” अध्यक्ष दाहालले भने।
प्रचण्डले संविधान संशोधनमार्फत प्रत्यक्ष कार्यकारी प्रणालीतर्फ अघि बढ्नुपर्ने बताएका छन्। साथै, आन्दोलनमा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली र घाइतेप्रति शीघ्र स्वास्थ्यलाभको कामना गर्दै आन्दोलनको आडमा भइरहेको सार्वजनिक तथा निजी सम्पत्तिमा तोडफोड, आगजनी, लुटपाटजस्ता घटनालाई गम्भीर रूपमा लिँदै उच्चस्तरीय न्यायिक छानबिनको माग समेत गरेका छन् । साथै, पार्टी पंक्तिलाई जनताको सुरक्षाका निम्ति सतर्क रहन र समस्या आए तत्काल प्रतिकार गर्न तम्तयार रहन निर्देशन दिइएको उल्लेख छ।