काठमाडौं– आज बिहान नेपाल क्यान्सर अस्पतालको डे केयर युनिटमा विद्युत सर्टका कारण आगलागी भए पनि समयमै नियन्त्रणमा ल्याइएकाले कुनै जनधनको क्षति नभएको अस्पतालले जनाएको छ।
बिहान ६ बजे सुरु भएको आगो स्थानीय बासिन्दा, प्रहरी, दमकलकर्मी र अस्पतालका कर्मचारीको सक्रियतामा पूर्णरूपमा निभाइएपछि सबै सेवा पुनः सुचारु गरिएको जानकारी दिइएको छ।
अस्पताल प्रशासनका अनुसार बिरामी, कुरुवा र कर्मचारी सबै सुरक्षित छन्। आगो नियन्त्रणमा सहयोग गर्ने स्थानीय बासिन्दा, नेपाल प्रहरी, नेपाली सेना, दमकलकर्मी र अस्पतालका कर्मचारीप्रति अस्पतालले आभार प्रकट गरेको छ।