काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार शीतल निवासमा आयोजित समारोहमा तीन नयाँ मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराएका छन्।
नवनियुक्त मन्त्रीहरूमा अर्थमन्त्रीका रूपमा पूर्वसचिव रामेश्वर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीका साथै भौतिक योजना र सहरी विकासको जिम्मेवारीसहित कुलमान घिसिङ, र गृह तथा कानुन मन्त्रालय सम्हाल्ने अधिवक्ता ओम प्रकाश अर्याल रहेका छन्।
जेनजी आन्दोलनपछि केपी शर्मा ओली नेतृत्वको सरकार ढलेपछि बनेको अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा सम्पन्न शपथ कार्यक्रममा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईलगायत उच्च अधिकारीहरूको सहभागिता थियो।