विराटनगर । कोशी अस्पतालको फार्मेसीमा कार्यरत दुई फार्मेसी सहायक र एक कार्यालय सहयोगीलाई स्वास्थ्य बीमा रकम दुरुपयोगको आरोपमा करार सेवाबाट बर्खास्त गरिएको छ। उनीहरूले औषधि कम आपूर्ति गरी बढी रकम कटाउने, चिकित्सकले नलेखेका महँगा औषधि देखाएर भुक्तानी गर्ने जस्ता अनियमितता गरेको छानबिनपछि पुष्टि भएको अस्पतालले जनाएको छ।
मोरङका एक क्यान्सरपीडित बिरामीको लिखित उजुरीपछि गरिएको अनुसन्धानमा अघिल्ला बिलहरूमा पनि यस्तै गडबडी भेटिएको मेडिकल सुपरिटेन्डेन्ट डा. रुणा झालले बताइन्। दैनिक करिब एक हजार बिरामी आउने अस्पतालमा आधाभन्दा बढी बीमित हुने गरेकाले औषधि आपूर्ति र बिलिङ प्रणाली अझ पारदर्शी बनाउन आवश्यक रहेको सरोकारवालाको सुझाव छ।