बारा । सुवर्ण गाउँपालिका–३ पचगछिया टोलमा विषाक्त रक्सी सेवनका कारण तीन जनाको मृत्यु भएको छ। वडाध्यक्ष राम क्षेत्री यादबका अनुसार सोमबार राति करिब ४५ वर्षीय गोपाल यादब, ५० वर्षीय ऐजाजुल मिया र २७ वर्षीय रामसुरथ (डिबुवा) यादबको ज्यान गएको हो।
तीनै जनाले एक दिनअघि पचगछियास्थित ट्रान्सफरमर छेउमा राम भरोस यादबले सञ्चालन गरेको अवैध मदिरा पसलमा रक्सी पिएको र सोही रक्सी विषाक्त भएको आशंका गरिएको छ। स्थानीयले पटक–पटक उजुरी दिए पनि प्रहरीले प्रभावकारी कारबाही नगरेको आरोप लगाएका छन्।
यसअघि पनि बाराका बरियारपुरलगायत स्थानमा अवैध रक्सी सेवनका कारण मृत्यु हुने घटना दोहोरिँदै आएको छ। प्रहरी नायब उपरीक्षक तथा जिल्ला प्रहरी प्रवक्ता विजय राज पण्डितले घटनाबारे प्रारम्भिक जानकारी लिई आवश्यक कारबाही अघि बढाइने बताएका छन्।