चितवन । जिल्लामा जापानीज इन्सेफ्लाइटिस (JE) का कारण पाँच जनाको मृत्यु भएको छ। जनस्वास्थ्य कार्यालय चितवनका अनुसार हालसम्म १६ जनामा संक्रमण पुष्टि भएको छ। पछिल्लो पटक भदौ २३ गते राप्ती नगरपालिकाकी ४२ वर्षीया महिलाको मृत्यु भएको हो।
यसअघि भरतपुर महानगरपालिका–२२ का ७० वर्षीय पुरुष, कालिका नगरपालिका–५ का ८९ वर्षीय पुरुष, राप्ती नगरपालिका–१२ की ७० वर्षीया महिला र भरतपुर महानगरपालिका–१२ की ८१ वर्षीया महिलाको मृत्यु भइसकेको कार्यालय प्रमुख दिनेश रुपाखेतीले जानकारी दिए। गत आर्थिक वर्षमा पनि तीन जना संक्रमितमध्ये एक जनाले ज्यान गुमाएका थिए।
यो रोग क्युलेक्स जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने कीटजन्य रोग हो। लामखुट्टे विशेषगरी घरबाहिर बस्न रुचाउने र साँझ-बिहान बढी सक्रिय हुने भएकाले सावधानी अपनाउन जनस्वास्थ्य कार्यालयले अनुरोध गरेको छ। धानखेतीको पानीमा अण्डा पार्ने भएकाले खेत आसपासको क्षेत्र उच्च जोखिममा रहेको बताइएको छ।
चितवनमा हालसम्म भरतपुर महानगरपालिका, कालिका नगरपालिका, राप्ती नगरपालिका, खैरहनी नगरपालिका र माडी नगरपालिकामा संक्रमण फैलिएको छ। स्वास्थ्य निकायले सुँगुर, बङ्गुर, हाँसजस्ता पशुपक्षी पनि भाइरसका वाहक हुने भएकाले सरसफाइ र लामखुट्टे नियन्त्रणमा विशेष ध्यान दिन स्थानीयलाई आग्रह गरेको छ।