ललितपुर । नेपाल मेडिसिटी अस्पतालले अर्को सफल कलेजो प्रत्यारोपण गरेर जटिल उपचारमा नयाँ उपलब्धि जोडेको छ। च्यासल, ललितपुरका ५२ वर्षीय शान्तमान व्यञ्जनकारको कलेजो समस्या समाधानका लागि भदौ ४ गते प्रत्यारोपण गरिएको थियो। उनलाई आफ्नै श्रीमती ५० वर्षीया नानु व्यञ्जनकारले कलेजो दान गरेकी हुन्। व्यञ्जनकारलाई उपचार सफल भएपछि भदौ २३ गते डिस्चार्ज गरिएको अस्पतालले जानकारी दिएको छ।
विगत आठ वर्षदेखि कलेजो रोगसँग जुझिरहेका व्यञ्जनकारको रोगको मूल कारण मदिरा सेवन रहेको बताइएको छ। “मदिरा सेवनकै कारण कलेजो बिग्रियो। बारम्बार बेहोस हुने समस्या भएपछि विभिन्न अस्पतालमा जाँच गराएँ, तर कलेजो पुरै विग्रिएको हुँदा अन्ततः प्रत्यारोपण गर्नुपर्ने भयो,” व्यञ्जनकारले बताए।
उपचारका लागि सुरुमा भारत जाने योजना बनाए पनि अन्तिममा नेपालमै प्रत्यारोपण गर्ने निर्णय गरेका उनले नेपाल मेडिसिटीको सेवा र दक्षतामा विश्वास राखेका थिए। “भारतमा उपचार गर्दा खर्च, बसाइ, यातायात र भाषाको समस्या हुने भएकाले मेडिसिटीमै उपचार गर्ने निधो गरेँ,” उनले भने।
यस प्रत्यारोपणमा ग्यास्ट्रोइन्टेरोलोजी, हेपाटोलोजी तथा इन्डोस्कोपी विभागका प्रमुख प्रा.डा. उमिद कुमार श्रेष्ठ, कलेजो प्रत्यारोपण सर्जन डा. रामबाबु साह, डा. सञ्जय कुमार यादव, ट्रान्सप्लान्ट एनेस्थेसियोलोजिस्ट डा. अपूर्व शर्मा, डा. निराजन महासेठ र वरिष्ठ रेडियोलोजिस्ट प्रा.डा. राम कुमार घिमिरेसहितको टोली संलग्न थियो।
“नेपाली नागरिकलाई अब यस्ता जटिल उपचारका लागि विदेश जानुपर्ने आवश्यकता छैन। नेपालमै दक्ष चिकित्सक र अत्याधुनिक प्रविधिसहित निरन्तर प्रत्यारोपण सेवा दिँदै आएका छौं,” कलेजो प्रत्यारोपण सर्जन डा. रामबाबु साहले बताए।
नेपाल मेडिसिटीले आगामी दिनमा पनि नियमित रूपमा कलेजो प्रत्यारोपण सेवा निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ।