अर्घाखाँची । अर्घाखाँची जिल्ला अस्पतालले अब विशेषज्ञ डाक्टरसहितको सेवा नियमित रुपमा सुरु गरेको छ । बिरामीको अवस्थालाई ध्यानमा राख्दै अस्पतालले दैनिक रूपमा प्रसूति तथा स्त्रीरोग, हाडजोर्नी ९अर्थोपेडिक० लगायतका विशेषज्ञ सेवा र सर्जरी (अपरेसन) सेवा उपलब्ध गराएको मेडिकल सुपरिटेन्डेन्ट डा। जगन्नाथ तिवारीले जानकारी दिए ।
विशेषज्ञ सेवा सुरु भएपछि जिल्लाका हजारौँ बिरामीले अब उपचारका लागि बाहिरका शहर पुग्नुपर्ने बाध्यता हटेको छ । स्थानीय मोतीराज चुदालीका अनुसार विगतमा जिल्ला अस्पतालप्रति नकारात्मक धारणा भए पनि अहिले भने सेवाप्रति विश्वास बढेको छ । “सामान्य स्वास्थ्य समस्या देखिँदा बुटवल वा पाल्पा पुग्ने गरेका बिरामी अहिले यही अस्पतालमै उपचार गर्न थालेका छन्,” उनले बताए ।
अस्पतालले अहिले नियमित स्वास्थ्य सेवासँगै आँखा र दाँत उपचार सेवा तथा एम डि जी पी विशेषज्ञमार्फत नसर्ने रोगको उपचार सेवा पनि थपेको छ । आगामी दिनमा डायलासिस र इन्डोस्कोपी सेवा सुरु गर्ने र विशेषज्ञ तथा ल्याब सेवा विस्तार गर्ने तयारी भइरहेको डा। तिवारीले बताए ।
हाल ११औँ तहको मेडिकल सुपरिटेन्डेन्ट डाक्टरको नेतृत्वमा सञ्चालनमा रहेको अस्पतालमा स्वीकृत ६६ दरबन्दी भए पनि स्थायी, करार र अन्य कार्यक्रममार्फत १०१ जना स्वास्थ्यकर्मी कार्यरत छन् । अस्पतालमा दैनिक रूपमा ३ सयदेखि ३ सय ५० बिरामी उपचारका लागि आउने गरेका छन् ।
सन् २०४५ सालमा १५ बेड क्षमतासहित स्थापना भएको जिल्ला अस्पताल अहिले प्रदेश सरकारको प्रस्तावअनुसार ५० बेड क्षमतामा सेवा दिइरहेको छ । आवश्यक उपकरण र पर्याप्त विशेषज्ञ डाक्टरको अभावले अघिल्लो वर्षसम्म जिल्लावासी विशेषज्ञ सेवा पाउन वञ्चित हुँदै आएका भए पनि हाल सुरु भएको यो सेवा जिल्लावासीका लागि राहतको विषय बनेको छ ।