काठमाडौँ। भदौ २४ मा प्रधानमन्त्रीबाट राजीनामा दिएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले पहिलोपटक बोलेका छन्। संविधान दिवसको अवसरमा फेसबुकमार्फत उनले जेन जी आन्दोलनका क्रममा “प्रहरीसँग नभएका स्वचालित हतियारले गोली हानिएको” दाबी गर्दै घटनाको छानबिन गर्नुपर्ने बताएका छन्।
ओलीले सरकारको आधिकारिक आदेश बिना नै प्रदर्शनकारीलाई ताकी–ताकी गोली चलाइएको हुनसक्ने बताएका छन्। उनले लेखे, “यसका पछाडिको षड्यन्त्रबारे अहिले धेरै कुरा भन्दिनँ, समयले आफैं बयान दिनेछ।”
उनका अनुसार शान्तिपूर्ण भनिएको आन्दोलनमा “घुसपैठ” भएको थियो र षड्यन्त्रकारीहरूले हिंसा मच्चाउँदा युवाहरूको ज्यान गएको हो।
यसैबीच, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले विज्ञप्ति जारी गर्दै मुलुकको समाधान संविधानभित्रै खोज्नुपर्नेमा जोड दिएका छन्। “संविधान बाहिरको बाटो अस्थिरता निम्त्याउँछ,” देउवाले चेतावनी दिएका छन्।