गुल्मी । दुर्गम र साना जिल्लामा विशेषज्ञ चिकित्सकलाई टिकाइ राख्न चुनौती बीच रेसुङ्गा नगरपालिकाले गुल्मी अस्पतालका डाक्टरलाई तलब बराबरको प्रोत्साहन भत्ता दिँदै आएको छ।
गत दुई वर्षदेखि सञ्चालनमा आएको यो योजना अन्तर्गत यस वर्षदेखि ७ जना विशेषज्ञ चिकित्सकलाई मासिक तलबकै बराबरको भत्ता दिइने भएको हो। नगर प्रमुख खिलध्वज पन्थीका अनुसार यसअघि एकजनामात्र डाक्टरलाई दिइँदै आएको भत्ता अब आन्तरिक चिकित्सा, बालरोग, स्त्रीरोग, हाडजोर्नी, आकस्मिक चिकित्सा लगायतका विभिन्न विशेषज्ञलाई विस्तार गरिएको छ।
नगरपालिकाले यस कार्यक्रमका लागि वार्षिक करिब ४० लाख रुपैयाँ खर्च गर्नेछ। यसले डाक्टरलाई लामो समय जिल्लामै सेवा दिन प्रेरित गर्ने र बिरामीलाई गुणस्तरीय उपचार सहज बनाउने विश्वास गरिएको छ।
विगतमा उपचारका लागि पाल्पा वा बुटवल जानुपर्ने बाध्यता हट्दै अहिले तम्घासमै विशेषज्ञ सेवा उपलब्ध भएपछि बिरामीलाई ठूलो राहत भएको नागरिक समाज गुल्मीका अध्यक्ष पदमप्रसाद पाण्डेले बताए।
रेसुङ्गा नगरले यसअघि पनि मिर्गौला डायलिसिस मेसिन हस्तान्तरण, अक्सिजन कन्सन्ट्रेटर सहयोग, मोतियाविन्दुको निःशुल्क शल्यक्रिया, ग्रामीण अल्ट्रासाउण्ड सेवा जस्ता कार्यक्रम सञ्चालन गर्दै आएको छ।
गुल्मी अस्पतालमा हाल दैनिक करिब ३०० बिरामीको उपचार भइरहेको छ। नगरपालिकाको “गुल्मी अस्पताल, हाम्रो अस्पताल” अभियानले जिल्लाको स्वास्थ्य सेवा थप सुदृढ बनाएको अस्पताल व्यवस्थापन समितिले जनाएको छ।