सिरहा । लहान मुटु अस्पतालले सेवा विस्तार गर्दै अत्याधुनिक मुटु परीक्षण सेवा सुरु गरेको छ। चम्पापुरस्थित अस्पतालमा अब ‘इकोकार्डियोग्राफी’, ‘ट्रेडमिल टेस्ट’ र ‘होल्टर मोनिटर टेस्ट’ उपलब्ध छन्। अस्पतालले २५ शय्याको बेड सेवा पनि औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ।
छ महिनाअघि सुरु भएको ओपिडीमार्फत हालसम्म तीन हजारभन्दा बढी बिरामीले सेवा लिइसकेका छन्। लहान नगरपालिकाको ११ बिघा सार्वजनिक जग्गामा दुई भवनमार्फत सञ्चालन भइरहेको अस्पतालले एक वर्षभित्र आइसियु र सिटी स्क्यान सेवा सुरु गर्ने तयारी छ।
भविष्यमा ५०० शय्याको पूर्ण अस्पताल निर्माण योजना तयार भइसकेको छ। नेपाल हृदय रोग निवारण संघ अन्तर्गत डा. बालकृष्ण ओग्र्यानको पहलमा स्थापना भएको यो अस्पताल जर्मनीस्थित ‘नेपाल मेड ई भी’ र ‘रोटरी क्लब कटबस’को करिब दुई अर्ब रुपैयाँको सहयोगमा निर्माण भइरहेको हो। अस्पताललाई सहिद गंगालालको स्तरमा कार्डियो–डायबेटिक सेन्टरका रूपमा विस्तार गर्ने लक्ष्य राखिएको छ।