वीरगञ्ज । केही समय नियन्त्रणमा जस्तो देखिएको हैजा संक्रमण फेरि बढ्न थालेपछि स्थानीयमा चिन्ता बढेको छ। भदौ ६ गतेदेखि फैलिएको संक्रमण भदौको तेस्रो सातातिर कमजोर भए पनि लगातारको वर्षापछि पुनः संक्रमितको संख्या उकालो लागेको हो।
वीरगञ्ज महानगरपालिकाका अनुसार हालसम्म महानगरमा २२४ जना र पोखरिया अस्पतालमा १८ जना थपिँदा जिल्लाभर संक्रमितको संख्या २४२ पुगेको छ। पछिल्ला तीन–चार दिनयता नारायणी अस्पतालमा दैनिक २०–२२ बिरामी आइरहेको र हैजा पुष्टि हुने क्रम बढिरहेको प्रवक्ता डा. उदयनारायण सिंहले बताए। उनका अनुसार दूषित पानी नै पुनः संक्रमणको मुख्य कारण हो।
हालसम्म वीरगञ्ज र पोखरियामा १,४६१ झाडापखालाका बिरामीमध्ये १,४३१ निको भएर घर फर्किएका छन् भने ३० जना अझै उपचाररत छन्। जिल्ला स्वास्थ्य कार्यालयका प्रवक्ता जयमोद ठाकुरले सावधानी नअपनाएसम्म जोखिम रहिरहने भन्दै पानी उमालेर मात्र खाने सुझाव दिएका छन्।