दाङ । लुम्बिनी प्रदेशको निजी क्षेत्रको ठूलो स्वास्थ्य लगानी मानिएको सञ्जीवनी शिक्षण अस्पताल आजदेखि औपचारिक रुपमा सेवा सुरु गरेको छ। नेपालगन्जमा सञ्जीवनी कलेज अफ मेडिकल साइन्स सञ्चालन गरिरहेका व्यवसायी खुमाप्रसाद अर्यालको करिब चार अर्ब रुपैयाँको एकल लगानीमा दाङको घोराहीमा स्थापना गरिएको यो अस्पताल प्रदेशकै अत्याधुनिक स्वास्थ्य केन्द्रको रुपमा प्रस्तुत भएको छ।
अर्यालका अनुसार दाङ र आसपासका पहाडी जिल्लामा ५० बेडभन्दा ठूलो अस्पताल नहुँदा बिरामीलाई बाँके वा रुपन्देही रेफर गर्नुपर्ने बाध्यता हटाउन शिक्षण अस्पताल स्थापना गरिएको हो। अस्पताल सञ्चालन गर्नुअघि व्यापक स्वास्थ्य सर्वेक्षण गरी सेवा आवश्यकताको आधारमा योजना तय गरिएको उनले बताए।
सञ्जीवनी शिक्षण अस्पतालका प्रमुख कार्यकारी अधिकृत दीपक रोकाका अनुसार पाँच बिघा क्षेत्रमा २०७८ सालमा निर्माण कार्य सुरु गरिएको थियो। हाल अस्पतालले ३ सय शय्याबाट सेवा सुरु गरेको छ भने आगामी तीन वर्षभित्र ५ सय शय्यामा विस्तार गर्ने लक्ष्य राखिएको छ। रोका भन्छन्, “आवश्यक ९० प्रतिशत उपकरण जडान भइसकेको छ। ४ सयभन्दा बढी कर्मचारी आवश्यक भए पनि हालसम्म ३ सयभन्दा बढी डाक्टर, नर्स, फार्मासिस्ट र अन्य कर्मचारी नियुक्ति गरिसकेका छौँ। स्थानीयलाई प्राथमिकता दिइरहेका छौँ।”
अस्पतालले आइसियु, एनआइसियु, पिआइसियु, एसआइसियु लगायतका ८० वटा विशेष बेडसहित अत्याधुनिक आपतकालीन सेवा उपलब्ध गराएको छ। ५० शय्याको इमर्जेन्सी वार्ड २४ घण्टा सञ्चालनमा रहनेछ। रेडियोलोजी सेवामा डिजिटल एक्स–रे, भिडियो एक्स–रे, सीटी स्क्यान, एमआरआई लगायतका अत्याधुनिक सुविधा छन्। मिर्गौला रोगका बिरामीका लागि डायलासिस, मुटुका बिरामीका लागि क्याथ ल्याब सेवा पनि उपलब्ध छ।
निकट भविष्यमा न्युरोलोजी, कार्डियोलोजी, नेफ्रोलोजी, युरोलोजी र ग्यास्ट्रोलोजी सेवा सुरु गर्ने तयारी भएको अस्पतालले जनाएको छ। विपन्न परिवारका बिरामीमध्ये १० प्रतिशतलाई राज्यको प्रावधान अनुसार छुटको व्यवस्था हुनेछ। अस्पताल परिसरमा हेलिकप्टर अवतरण सुविधा पनि उपलब्ध छ।
स्वास्थ्य सेवा विस्तारसँगै अस्पतालले २०८३ सालदेखि स्टाफ नर्स, हेल्थ असिस्टेन्ट (HA), फार्मेसी र ल्याब जस्ता प्राविधिक शिक्षा कक्षा सञ्चालन गर्ने योजना बनाएको छ। यसका लागि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्(CTEVT) बाट सम्बन्धन प्रक्रिया अघि बढाइएको रोका बताउँछन्।
हाल पाँच बिघा जग्गामा नौ वटा भवनमार्फत सेवा सुरु गरिएको छ भने वरपरको ११ बिघा क्षेत्र थप संरचना निर्माणका लागि व्यवस्था गरिएको छ। आगामी चरणमा यी भवनलाई चार तला बनाएर मेडिकल शिक्षा र विशेष उपचार सेवा थप्दै जाने अस्पतालको योजना छ।