काठमाडौँ । देशका विभिन्न प्रदेशमा छात्रवृत्ति करारमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले चालू आर्थिक वर्ष सुरु भएको यतिका महिनासम्म पनि तलब–भत्ता नपाएको गुनासो बढेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सम्बन्धित प्रदेश सरकारलाई तत्काल भुक्तानीको व्यवस्था गर्न निर्देशन दिएको छ।
मन्त्रालयमा परेको उजुरीअनुसार कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा खटाइएका चिकित्सक तथा स्वास्थ्यकर्मीले नियमित पारिश्रमिक पाउन नसकेका छन्। यसैबारे मन्त्रालयले प्रदेशका स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयहरूलाई पत्र पठाउँदै गुनासोको सम्बोधन गरी नियमित तलब भुक्तानीको व्यवस्था मिलाउन आग्रह गरेको हो।
स्वास्थ्य मन्त्रालयका उप–सचिव कृष्णराज पाण्डेद्वारा हस्ताक्षर गरिएको निर्देशन पत्रमा प्रदेशहरूले आवश्यक समन्वय गरी चिकित्सक तथा स्वास्थ्यकर्मीको पारिश्रमिक तत्काल उपलब्ध गराउन उल्लेख गरिएको छ।
प्रदेश सरकारको ढिलासुस्तीका कारण करार सेवामा रहेका चिकित्सक र स्वास्थ्यकर्मी आर्थिक सङ्कटमा परेका भन्दै उनीहरूले पटक–पटक माग गर्दै आएका छन्। मन्त्रालयको यो निर्देशपछि अब प्रदेश सरकारहरूले आवश्यक प्रक्रिया अघि बढाउने अपेक्षा गरिएको छ।
