काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विगतदेखि प्रयोगमा रहेका सबै संयन्त्र पुनःस्थापित भएको बताउँदै सेवा प्रवाह अझ सुदृढ पार्न कदम चालेको छ।
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले मंगलबार विज्ञप्ति जारी गर्दै “स्वास्थ्य सेवा प्रवाहमा पारदर्शिता र जबाफदेहितालाई थप सुदृढ बनाउने उद्देश्यसहित विगतदेखि नै प्रयोगमा रहेका सबै संयन्त्रहरू पुनःस्थापित गरिएको जानकारी सबैमा पुर्याउन चाहन्छौं,” भन्ने जानकारी दिएका छन्।
मन्त्रालयले सेवामा कुनै कठिनाइ, अनियमितता वा कर्मचारीको लापरबाही देखिएमा तत्काल जानकारी दिन हटलाइन नम्बर १११५, भाइबर तथा ह्वाट्सएप ९८५१३३०५९२, इमेल [email protected], प्रवक्ता ९८५१२५५८३८ र सूचना अधिकारी ९८५१३६३७५६ मार्फत सम्पर्क गर्न अनुरोध गरेको छ।
हाल पूर्ण रूपमा जलेर नष्ट भएको कार्यालय भवनको कारण मन्त्रालयले अस्थायी रूपमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद् मार्फत काम सञ्चालन गरिरहेको प्रवक्ता बुढाथोकीले बताए। उनले मन्त्रालय, विभाग, केन्द्र र अस्पतालबाट हुने सेवामा कर्मचारीले गर्नुपर्ने कार्य नगरेको, नगर्नुपर्ने कार्य गरेको वा दबाबका कारण सेवा प्रभावित भएको अवस्था देखिए तत्काल जानकारी दिन आग्रह गरे।
मन्त्रालयले सबै संयन्त्र पुनःस्थापना भएपछि सेवाग्राहीलाई अझ सहज र पारदर्शी सेवा उपलब्ध हुने विश्वास व्यक्त गरेको छ।