कञ्चनपुर । कञ्चनपुरको भीमदत्तनगरस्थित महेन्द्रनगर आँखा अस्पताल नेपालीसँगै भारतीय नागरिकको पनि उपचार केन्द्र बन्दै गएको छ। सस्तो र गुणस्तरीय सेवाका कारण भारतको उत्तराखण्ड र उत्तर प्रदेशबाट बिरामी आउने क्रम बढेको अस्पतालका नेत्र अधिकृत वीरसिंह धामीले बताए।
गत आर्थिक वर्षमा २४ हजार ७८० जनाले उपचार लिएका मध्ये एक हजार ६६७ जना भारतीय नागरिक थिए। अस्पतालले सो अवधिमा ६३४ जनाको मोतियाविन्दु शल्यक्रिया र पाँच हजार ४१३ जनालाई चश्मा वितरण गरेको छ।
वि.सं. २०४२ मा स्थापना भई २०७० मा स्तरोन्नति भएको अस्पतालमा अत्याधुनिक मेसिनमार्फत मोतियाविन्दु, आँखामा मासु पलाउने लगायतका समस्या शल्यक्रिया गरिन्छ। यहाँ दैनिक करिब डेढ सय बिरामी उपचारका लागि आउने गरेका छन्।
अस्पतालले विद्यालय तथा समुदायस्तरमा शिविर सञ्चालन गरी आँखाको समस्या पहिचान र चश्मा वितरण समेत गर्दै आएको छ।