पाल्पा – जिल्लाका सरकारी अस्पतालमा स्वास्थ्य बीमा प्रणाली सुस्त भएपछि सेवाग्राही समस्यामा परेका छन्। पाल्पा अस्पताल, रिब्दीकोटको खस्यौली प्राथमिक स्वास्थ्य केन्द्र, रम्भाको ताहुँ स्वास्थ्य केन्द्र र रामपुर अस्पतालमा कम्प्युटर सिस्टम ढिलो चल्दा बीमा अभिलेख दर्ता गर्न अत्यधिक समय लागिरहेको छ।
सामान्यतया एक–दुई मिनेटमै सकिनुपर्ने प्रक्रिया हाल १५–२० मिनेट लागिरहेको पाल्पा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र पौडेलले जानकारी दिए। सिस्टम अपग्रेडको माग स्वास्थ्य बीमा बोर्डमा पुर्याए पनि समस्या समाधान नभएकाले बिरामी घाममै घण्टौँ कुर्न बाध्य छन्।
चाडपर्व नजिकिँदै गर्दा सेवाग्राहीको भीड बढ्दा समस्या झन् गहिरिएको छ। सरकारी सेवा ढिलासुस्तीबारे उजुरी गर्न गृह मन्त्रालयले केही दिनअघि निर्देशन दिए पनि पाल्पामा सुधार नआएको सेवाग्राहीको गुनासो छ।