काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले लिएको ७३औँ चिकित्सक दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षामा सहभागी १ हजार ७७ जनामध्ये केवल ३९.०९ प्रतिशत (४२१ जना) मात्रै उत्तीर्ण भएका छन्।
एमबीबीएसतर्फ ८९४ जनामध्ये ३८६ जना (४२.१९ प्रतिशत) मात्र पास हुँदा ५०८ जना फेल भए। डेन्टल (बीडीएस) तर्फ झन् निराशाजनक नतिजा देखियो। १८३ जना सहभागीमध्ये ३५ जना (१८.६२ प्रतिशत) मात्र उत्तीर्ण र १४८ जना (८१.३८ प्रतिशत) अनुत्तीर्ण भए।
यो नतिजा त्यस्तो समयमा आएको हो, जब चिकित्सा शिक्षा आयोगले एमबीबीएस र बीडीएसमा सिट संख्या बढाउने निर्णय गरेको छ। सरोकारवालाले सिट बढाउँदा पढाइको गुणस्तर खस्किने आशंका व्यक्त गर्दै आएका थिए, र हालको नतिजाले ती चिन्तालाई अझ बलियो बनाएको छ।
काउन्सिलका रजिष्ट्रार डा। सतीशकुमार देवका अनुसार यसपटकको परीक्षामा अघिल्ला सत्रमा फेल भएकाको सहभागिता धेरै भएकाले नतिजा कमजोर हुनसकेको भए पनि यति ठूलो संख्यामा असफलता आउनु शिक्षण संस्था, पाठ्यक्रम र विद्यार्थीको तयारीमाथि नै प्रश्न हो।
अधिकारीहरूले चिकित्सा शिक्षाको गुणस्तर जोगाउन शैक्षिक संस्थाको अध्ययन–अध्यापन शैली, पाठ्यक्रम र मूल्यांकन प्रणालीको तत्काल पुनरावलोकन गर्नुपर्ने आवश्यकता औंल्याएका छन्। उनीहरूका अनुसार केवल सिट बढाएर चिकित्सक संख्या बढाउँदा गुणस्तरहीन डाक्टर उत्पादन हुने जोखिम छ, जसले स्वास्थ्य सेवा प्रणालीलाई नै कमजोर बनाउने खतरा बढाउँछ।