नुवाकोट । नुवाकोट जिल्ला अस्पताल त्रिशूलीका स्वास्थ्यकर्मी र कर्मचारीलाई आगलागी नियन्त्रण र सावधानीबारे विशेष तालिम प्रदान गरिएको छ। फायर एक्स्टिङ्गुइशर सिमुलेसन कार्यक्रमअन्तर्गत आयोजित प्रशिक्षणमार्फत आकस्मिक जोखिम नियन्त्रण र क्षति न्यूनीकरणमा आवश्यक ज्ञान र सीप विकास गर्ने उद्देश्य राखिएको अस्पतालले जनाएको छ।
अस्पतालका अध्यक्ष उपेन्द्र बुढाथोकीका अनुसार सुरक्षाकर्मीदेखि विभागीय कर्मचारीसम्मलाई आगलागी नियन्त्रण गर्ने विधि, सतर्कता र आपतकालीन कदमबारे जानकारी दिइएको हो। कार्यक्रमका क्रममा फायर एक्स्टिङ्गुइशरको प्रयोगात्मक अभ्याससमेत गरिएको थियो।
६१ वर्षदेखि सेवा दिँदै आएको त्रिशूली अस्पतालमा नुवाकोट, रसुवा र धादिङ क्षेत्रका दैनिक करिब ४ सयभन्दा बढी बिरामी उपचार लिने गर्छन्। अस्पतालका निर्देशक डा. राजेन्द्र लामाले यस्ता तालिमले आकस्मिक अवस्थामा सजग रहन र अस्पतालको सेवा निरन्तरता सहज बनाउन महत्वपूर्ण योगदान पुर्याउने बताए।