काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा घाइते भएकाहरूको उपचारलाई सहज बनाउन सरकारले राजधानी काठमाडौँ र उपत्यकाबाहिर विशेष ‘जेनजी क्लिनिक’ सञ्चालन गर्ने निर्णय गरेको छ। गृह मन्त्रालयका अनुसार घाइतेहरूको पहिचान, वर्गीकरण र प्रभावकारी उपचारका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमार्फत तोकिएका अस्पतालमा क्लिनिक सञ्चालन गरिनेछ।
यसका लागि गृह र स्वास्थ्य मन्त्रालयले सम्पर्क व्यक्ति तोक्ने तयारी गरेको छ भने उपचारमा संलग्न अस्पतालको विषयविज्ञ चिकित्सकको संयोजकत्वमा कार्यदल गठन हुनेछ। कार्यदलले तोकिएका अस्पतालमार्फत उपचार प्रक्रिया अघि बढाउनेछ।
घाइतेको पहिचान र उपचार सहज बनाउन असोज १२ गतेदेखि गृह मन्त्रालयमा सहायता कक्ष स्थापना गरी घाइतेलाई परिचयपत्र वितरण गर्ने व्यवस्था मिलाइएको छ। यो परिचयपत्रका आधारमा घाइतेले निःशुल्क उपचारका साथै आवतजावतका लागि एम्बुलेन्स सुविधा पाउनेछन्।
स्वास्थ्य मन्त्रालय र सम्बन्धित अस्पतालले पुनःजाँच (फलो–अप)का लागि आवश्यक एम्बुलेन्स तोक्ने र सम्पर्क नम्बर सार्वजनिक गर्ने तयारी पनि भइरहेको छ। सरकारका अनुसार गत भदौ २३ र २४ गतेको प्रदर्शनमा धेरै जना घाइते भएका थिए, जसमा अझै केहीको विभिन्न अस्पतालमा उपचार जारी छ।