चितवन । दसैँको महाअष्टमीमा घरघरमा खसी, बोका, च्याङ्ग्रा लगायत पशुको बलि दिइन्छ र मासु खाने गरिन्छ। तर चिकित्सकहरूले मासु पकाउने तरिका र खाने बानीमा विशेष ध्यान दिन सुझाव दिएका छन्।
पुष्पाञ्जली अस्पतालका डा. भोजराज अधिकारीले दसैँमा अत्यधिक मासु, चिल्लो, नुनिलो, गुलियो खाने र मदिरा सेवनले उच्च रक्तचाप, मधुमेह, ग्यास्ट्रिक, युरिक एसिडजस्ता समस्या बढ्ने बताएका छन्। उनले धेरै पकाएर राखिएको मासु नखान र बोसो नभएको ताजा मासु थोरै मात्रामा खाने सल्लाह दिएका छन्।
बिपी कोइराला क्यान्सर अस्पतालका डा. गुरुशरण साह र डा. विनय ठाकुरले रातो मासु पोलेर वा तारेर खाँदा क्यान्सरको जोखिम बढ्ने भन्दै मासु स्वस्थ तरिकाले पकाउन सुझाएका छन्।
चितवन मेडिकल कलेजका डा. सौरभ खतिवडाले अत्यधिक बोसोयुक्त मासुले चिनीको मात्रा, कोलेस्ट्रोल र मोटोपन बढाउने बताएका छन्। उनले राति यस्तो खाना खाँदा बिहानसम्म असर रहने बताएका छन्।
त्यसैगरी, मुटुरोग विशेषज्ञ डा. श्यामराज रेग्मीले मुटु, प्रेसर र मधुमेह भएका व्यक्तिले चिल्लो, बोसोयुक्त मासु र अत्यधिक परिकारबाट जोगिनु पर्ने बताएका छन्।
चिकित्सकहरूका अनुसार, दसैँमा रमाइलो गर्नु ठिकै हो, तर खानपिनमा सन्तुलन राख्नु स्वास्थ्यका लागि आवश्यक छ।