काठमाडौँ । लगातारको वर्षासँगै बाढी, पहिरो र प्राकृतिक प्रकोपका सम्भावित जोखिमलाई ध्यानमा राख्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आकस्मिक स्वास्थ्य सेवा अविच्छिन्न रुपमा सञ्चालन गर्न सबै अस्पताल र स्वास्थ्य संस्थालाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।
मन्त्रालयका सहसचिव एवं प्रवक्ता डा. प्रकाश बुढाथोकीद्वारा जारी विज्ञप्तिमा आवश्यक औषधि सामग्री र जनशक्ति तयारी अवस्थामा राख्न तथा आकस्मिक अवस्थामा सङ्घीय वा प्रदेशस्तरका स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रसँग समन्वय गर्न आग्रह गरिएको छ।
बिरामी स्थानान्तरण तथा रेफरल प्रणालीलाई सहज बनाउन, एम्बुलेन्स सेवाको सञ्चालन र व्यवस्थापनलाई प्रभावकारी बनाउनेतर्फ जोड दिइएको छ।
त्यसैगरी, आपतकालीन अवस्था वा अन्य आवश्यकतामा मन्त्रालयको निःशुल्क हेल्पलाइन नम्बर १११५ मा सम्पर्क गर्न सकिने पनि जानकारी दिइएको छ।