जयपुर । जयपुरको सवाई मानसिंह अस्पतालमा आगलागी हुँदा छ बिरामीको ज्यान गएको छ। आइतबार राति करिब ११ः२० बजे ट्रमा एन्ड अर्थोपेडिक इन्स्टिच्युटको न्युरोसर्जरी आइसियु–१ मा सर्ट सर्किट भएर आगलागी भएको अस्पतालले जनाएको छ।
आइसियुमा रहेका ११ बिरामीमध्ये छ जनाको मृत्यु भएको र बाँकीलाई अन्य आइसियुमा सारिएको अस्पताल प्रशासनले जानकारी दिएको छ। फायर ब्रिगेड र सुरक्षाकर्मीको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो।
गृहमन्त्री अमित शाहले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।