काठमाडौं । भारतको मध्य प्रदेश र राजस्थानमा ‘कोल्ड्रिफ’ नामक कफ सिरप सेवनका कारण कम्तीमा १८ बालबालिकाको मृत्यु भएको छ। पाँच वर्ष मुनिका ती बालबालिकाको मिर्गौला फेल भएपछि मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
तामिलनाडुस्थित स्रेसन फर्माले उत्पादन गरेको उक्त सिरपमा विषाक्त रसायन डाइएथिलिन ग्लाइकोल (डीईजी) को मात्रा सुरक्षित सीमाभन्दा करिब ५०० गुणा बढी पाइएको छ। यसले मिर्गौला र कलेजोमा गम्भीर क्षति पुर्याउने बताइएको छ।
नेपालमा भने यो औषधि पाइँदैन भन्दै औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले जानकारी दिएका छन्। उनका अनुसार “उक्त कफ सिरप नेपालमा दर्ता नै छैन, दर्ता नभएको औषधि बिक्री वितरण गर्न पाइँदैन।” कोल्ड्रिफ कफ सिरपको सेवनबाट १८ जना बालबालिकाको मृत्यु भए पछि विभागले सार्वजनिक सूचना निकाली कफ सिरप नेपालमा दर्ता भएर प्रयोगमा नआएको जनाएको छ। विभागले जनस्वास्थ्यमा हानी गर्ने कुनै पनि औषधि वितरण र प्रयोग रोक्न सबै निकायलाई सतर्क रहन आग्रह गरेको छ।
