काठमाडौं । सरकारले यही कार्तिक २० र २१ गते बालबालिका लक्षित राष्ट्रिय भिटामिन ए तथा जुकाको औषधि खुवाउने कार्यक्रम सुरु गर्दै छ ।
६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाहरुलाई भिटामिन ए क्याप्सुल खुवाइने छ । यसैगरी एक वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ए र जुका दुवैको औषधि खुवाइने र नियमित खोप लगाउन छुटेका ५ वर्षमुनिका बालबालिका पनि खोप दिइने स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाले जनाएको छ ।
महाशाखाले दुई दिने अभियानमा पाँच वर्षमुनिका करिब २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ र २४ लाख बालबालिकालाई जुकाको औषधी खुवाइने लक्ष्य लिएको छ । यस्तै ६ महिनाभन्दा माथिका बालबालिकालाई ‘बाल भिटा’ पोषणयुक्त आहार दिइँदै छ ।
आफूलाई पायक पर्ने वितरण केन्द्रमा गएर बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधि खुवाउन स्वास्थ्य मन्त्रालयले सबै अभिभावकहरुलाई आग्रह गरेको छ ।
सरकारले हरेक वर्ष बालबालिकाहरुलाई राष्ट्रिय भिटामिन ए तथा जुकाको औषधि खुवाउने गर्दै आएको छ । अघिल्लो पटक खाएकाहरुलाई अहिले पनि खुवाउनु पर्ने मन्त्रालयका अधिकारीहरु बताउँछन् ।
