काठमाडौं । निजामती कर्मचारी अस्पतालले अस्पताल परिसरभित्र औषधि कम्पनीका मेडिकल प्रतिनिधिहरू (MR) को गतिविधि निषेध गर्दै पुनः कडाइ गर्ने चेतावनी दिएको छ।
अस्पतालले जारी गरेको सूचना अनुसार, पछिल्लो समय विभिन्न औषधि कम्पनीका प्रतिनिधिहरू ड्युटीमा रहेका चिकित्सकसँग भेटघाट गर्ने क्रममा उपचाररत् बिरामीहरूलाई असुविधा हुने, र अस्पतालको कार्य वातावरणमा नकारात्मक असर पर्ने घटना दोहोरिन थालेका छन्।
अस्पतालले यसअघि पनि यस्ता व्यापारिक प्रवर्द्धन गतिविधि नगर्न आग्रह गर्दै सूचना प्रकाशित गरेको थियो। तर, सो सूचना उल्लङ्घन भइरहेकाले अबदेखि अस्पताल परिसरभित्र त्यस्ता गतिविधि भएको पाइएमा नियमअनुसार कडाभन्दा कडा कारबाही गरिने चेतावनी दिएको हो।
अस्पताल प्रशासनका अनुसार, अस्पतालजस्तो संवेदनशील क्षेत्रमा बिरामीको उपचार, चिकित्सकको कार्यसमय र वातावरणमा व्यवधान पुर्याउने कुनै पनि गतिविधि सह्य नहुने बताइएको छ।
अस्पतालले सबै औषधि कम्पनीहरू, उनका प्रतिनिधि र सम्बन्धित निकायलाई नियमपालन गर्न अनुरोध गरेको छ।