काठमाडौं । आज विश्व मानसिक स्वास्थ्य दिवस, नेपालमा पनि विविध कार्यक्रम गरी मनाईदै छ । विश्व स्वास्थ्य संगठनको आव्हानमा हरेक वर्षको अक्टुबर १० लाई मानसिक स्वास्थ्य दिवसका रुपमा मनाउने गरिन्छ ।
मानसिक स्वास्थ्यप्रति जागरुकता बढाउने उद्देश्यका साथ आज विश्वका विभिन्न मुलुकमा विश्व मानसिक स्वास्थ्य दिवस मनाइँदै छ । नेपालमा प्रत्येक वर्ष मानसिक रोगीको संख्या बढ्दै गएको छ । सरकारले भने मानसिक स्वास्थ्यलाई प्राथमिकतामा नराखेकाले मानसिक रोगीले भरपर्दो उपचार सेवा समेत पाउन सकेका छैनन् ।
राजनीतिक नेतृत्व, सरकारी कर्मचारी, स्वास्थ्य तथा सामाजिक सेवा प्रदायक, विद्यालय कर्मचारी र सामुदायिक समूहहरूसहित सबैले एकताबद्ध भएर हरेक व्यक्तिको मानसिक स्वास्थ्य सबल बनाउनेतर्फ लाग्न संयुक्त राष्ट्रसङ्घले आह्वान गरेको छ ।
दैनिक शारीरिक अभ्यास, सन्तुलित आहारको सेवन, राम्रो निद्रा र सकारात्मक सोचको विकासले मानसिक स्वास्थ्यलाई स्वस्थ राख्न सहयोग पुग्ने चिकित्सकको सुझाव छ । चिकित्सकका अनुसार मनोचिकित्सकको परामर्श लिने बिरामीको सङ्ख्या बढ्दो छ । मानसिक स्वास्थ्यमा देखिएका समस्यामध्ये ‘डिप्रेसन’ र ‘एन्जाइटी’ बढी देखिएको छ । मानसिक स्वास्थ्यमा देखिने समस्यालाई औषधिको सेवन, परामर्श र मनका कुरा अभिव्यक्ति गर्ने वातावरण दिनसके डिप्रेशनलाई कम गर्न सकिने बताउछन् ।