काठमाडौँ । यो वर्ष देशभर जापानिज इन्सेफ्लाइटिस (JE) सङ्क्रमणका कारण ३१ जनाको मृत्यु भएको छ। यो पछिल्ला १० वर्षकै सबैभन्दा उच्च संख्या हो। स्वास्थ्य सेवा विभागका डा. अभियान गौतमका अनुसार मृतकमध्ये अधिकांश ४० वर्षभन्दा माथिका र खोप नलगाएका व्यक्तिहरू हुन्।
गत वर्ष ८६ जनामा सङ्क्रमण देखिएकोमा यस वर्ष १६४ जना संक्रमित भएका छन्। हाल यो रोग ४२ जिल्लाका ११० पालिकासम्म फैलिएको छ। डा. गौतमका अनुसार लामखुट्टे, सुँगुर वा हाँसको पालनसँग रोगको सम्बन्ध हुनसक्ने भन्दै अध्ययन भइरहेको छ।
यस वर्ष कोशीमा ४, मधेसमा ३, बागमती र गण्डकीमा ५–५, लुम्बिनीमा ११, कर्णालीमा १ र सुदूरपश्चिममा २ जनाको मृत्यु भएको छ। साउनदेखि कात्तिकसम्म बढी देखिने यो रोगबाट अहिले २८ जिल्ला उच्च जोखिममा छन्। नेपालमा सन् १९९८ देखि बालबालिकालाई नियमित रूपमा जापानिज इन्सेफ्लाइटिसविरुद्धको खोप दिइँदै आएको छ।