काठमाडौँ ।पर्सा र बारामा हैजाको बढ्दो जोखिमलाई ध्यानमा राख्दै सरकार हैजाविरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ। हालैको वर्षा र बाढीपछि ती क्षेत्रमा फैलिएको महामारी नियन्त्रणका लागि यो कदम चालिएको हो।
परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेक लालका अनुसार “हैजा रोग विरुद्धको प्रतिकार्य खोप अभियान, २०८२” अन्तर्गत पर्सामा असोज २६ गतेदेखि र बारामा असोज २९ गतेदेखि खोप वितरण सुरु हुनेछ। अभियान तिहारअघि सम्पन्न गर्ने योजना छ।
गत भदौ ६ गते पर्साको वीरगञ्ज–१२ मुरली टोलबाट सुरु भएको हैजाबाट हालसम्म पर्सा र बारामा १,६८५ जना संक्रमित भइसकेका छन्। स्वास्थ्य सेवा विभागले यो अभियानका लागि १० लाख १८ हजारभन्दा बढी मात्रा खोप पठाउने तयारी गरेको छ।
डा. लालका अनुसार यो खोप एक वर्षभन्दा माथिका सबै उमेर समूहका व्यक्तिलाई दिइनेछ। मुखबाट खुवाइने यो खोप सुरक्षित रहेको र गर्भवती तथा स्तनपान गराइरहेका महिलाले समेत लिन सक्ने बताइएको छ।