काठमाडौँ । वीर अस्पतालका न्युरोसर्जन डा. राजीव झाको नेतृत्वमा एकै बिरामीको मस्तिष्कमा रहेका ६ वटा ‘एनोरिज्म’ (नसा फुल्ने रोग) को नौ घण्टा लामो जटिल शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरिएको छ ।
डा. झाका अनुसार बिरामीको एउटा एनोरिज्म फुटिसकेको थियो र अन्य पाँच फुट्ने अवस्थामा थिए । टोलीले फुटेको नसालाई बाँधेर र बाँकी पाँचवटामा क्लिप लगाएर सुरक्षित राखेको हो । यस्तो शल्यक्रिया अत्यन्त जटिल र दुर्लभ मानिन्छ । एनोरिज्म फुट्दा मस्तिष्कमा रगत बग्ने (ब्रेन ह्यामरेज) भएर मृत्यु हुने जोखिम रहन्छ ।
डा. झाका अनुसार उच्च रक्तचाप, मधुमेह, चुरोट तथा मदिरा सेवन गर्ने व्यक्तिहरूमा यो समस्या देखिने गर्छ । अहिलेसम्म उनले ११ जना एनोरिज्मका बिरामीको सफल उपचार गरेका छन् । हाल उक्त बिरामीको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।