बारा । हैजा रोकथामको लागि खोप अभियान आजदेखि शुरु भएको छ। बाराको प्रादेशिक अस्पताल कलैयाबाट जिल्ला समन्वय समितिका अध्यक्ष नरेन्द्र साहले पहिलो खोप लगाएर अभियानको शुभारम्भ गरे।
अभियान कार्तिक २ गतेसम्म कलैया, जितपुर सिमरा, प्रसौनी, परवानीपुर, फेटा र विश्रामपुर गरी ६ स्थानीय तहका विभिन्न केन्द्रमा सञ्चालन हुनेछ।
एक वर्ष माथिका सबैले ईयुभिकोल एस खोप पाउनेछन्। अभियानमा २१० खोप कार्यकर्ता, ३७९ महिला स्वास्थ्य स्वयंसेविका र ३७९ स्वयंसेवक खटाइनेछ। विद्यालय, सरकारी कार्यालय, बसपार्क, सीमा नाका जस्ता स्थानमा खोप केन्द्र स्थापना गरिएको छ।