काठमाडौँ । जेनजी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूको वर्गीकरण गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञ सम्मिलित १० सदस्यीय प्राविधिक समिति गठन गरेको छ।
समितिको संयोजकत्व मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. सरोज शर्माले सम्हाल्नेछन्।
सदस्यहरूमा डा. विनोद शेरचन (हाडजोर्नी विशेषज्ञ, ट्रमा सेन्टर), डा. गोपाल सेडाईं (स्नायु रोग विशेषज्ञ, त्रिवि), डा. अनिल जिसी (नाक, कान, घाँटी रोग विशेषज्ञ, वीर), डा. सुमन थापा (जनरल मेडिसिन, पाटन), डा. शंकर ठाकुर (आँखा रोग विशेषज्ञ, वीर), डा. रविन पण्डित (शल्य चिकित्सक, निजामती अस्पताल), डा. इश्वरी खनाल (मानसिक रोग विशेषज्ञ, मानसिक अस्पताल), सुप्रभा ढुंगेल (उपसचिव, गृह मन्त्रालय) र ईश्वरी प्रसाद ढकाल (उपसचिव, स्वास्थ्य मन्त्रालय) रहेका छन्।
संयोजक शर्माका अनुसार समितिमा जेनजी प्रतिनिधि पनि थपिनेछ। टोलीले कार्यविधि तयार गरी घाइतेहरूको अवस्था अनुसार वर्गीकरण र राहतका सुझावसहित प्रतिवेदन सरकारलाई बुझाउने तयारी गरेको छ। गृह मन्त्रालयका तथ्यांकअनुसार भदौ २३ र २४ गतेको आन्दोलनमा २ हजार ३९६ जना घाइते र ७४ जनाको मृत्यु भएको थियो।