सल्यान । स्क्रब टाइफस र उच्च ज्वरोका कारण सल्यानमा दुई जनाको मृत्यु भएको छ।
स्क्रब टाइफसबाट बागचौर नगरपालिका–१ कालाखेतका गजेन्द्र केसी र उच्च ज्वरोका कारण दार्मा गाउँपालिका–३ दुवाङ्गकी ४७ वर्षीया यनकुमारी खत्रीको उपचारका क्रममा मृत्यु भएको हो।
स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख डा। अर्जुन बुढाका अनुसार दुवै जनाको उपचारका क्रममा ज्यान गएको हो। गजेन्द्र केसीलाई गाउँघरमै औषधि सेवन गरे पनि ज्वरो नरोकिएपछि जिल्ला अस्पताल ल्याइएको थियो। परीक्षणपछि उनलाई स्क्रब टाइफस भएको पत्ता लाग्यो। अवस्था गम्भीर भएपछि नेपालगन्ज रेफर गरिएको र त्यहीं उपचारका क्रममा उनको मृत्यु भएको डा। बुढाले बताए।
डा। बुढाका अनुसार अहिले जिल्लामा स्क्रब टाइफसका बिरामी बढिरहेका छन्। चालु आर्थिक वर्षको साउनदेखि हालसम्म ७७ जना संक्रमित भेटिएका छन्। “ती मध्ये ८ जनाको अवस्था जटिल छ,” उनले बताए, “२ जनालाई थप उपचारका लागि रिफर गरिएको थियो, जसमा १ जनाको मृत्यु भएको हो।”
स्वास्थ्य कार्यालयले ज्वरो, टाउको दुख्ने, अत्यधिक पसिना आउने, शरीर दुख्ने, वा किराले टोकेको ठाउँमा रातो वा कालो दाग देखिएमा तुरुन्त रगत परीक्षण गर्न आग्रह गरेको छ।
स्वास्थ्यकर्मीका अनुसार यो रोग मुसामा बस्ने साना किरा ९माइट० को टोकाइबाट सर्छ। झाडी, खेतबारी वा वनजंगलमा काम गर्दा पुरा शरीर ढाक्ने कपडा लगाउन, र घाँस बारी वा चरनमा बस्दा गुन्द्री वा दरी ओछ्याएर बस्न सुझाव दिइएको छ।