वीरगञ्ज । पर्सा र बारामा फैलिएको हैजा नियन्त्रणका लागि सञ्चालन गरिएको खोप अभियान तीव्र बनेको छ। स्वास्थ्य सेवा विभागका अनुसार पर्सामा दुई दिनमै ४६ हजार ८९६ जनाले खोप लगाइसकेका छन्।
अभियान पर्साका १४ र बाराका ६ स्थानीय तहमा सञ्चालन भइरहेको छ। दुवै जिल्लाका लागि १० लाखभन्दा बढी डोज खोप उपलब्ध गराइएको छ। गत भदौमा सुरु भएको हैजा प्रकोपका कारण हालसम्म १,६८५ जना संक्रमित फेला परेका छन्, तर सबै उपचारपछि निको भइसकेका छन्।
अभियानमा १,९५० खोप केन्द्र र करिब १,९०० जनशक्ति परिचालित छन्। विश्व स्वास्थ्य सङ्गठन (WHO) र युनिसेफको सहयोगमा सञ्चालन भइरहेको अभियानले तिहारअघि सबै लक्षित व्यक्तिलाई खोप पुर्याउने लक्ष्य राखेको छ।