सिन्धुपाल्चोक । मेलम्ची क्षेत्रमा सञ्चालित निजी स्वास्थ्य संस्था, डेन्टल क्लिनिक, पोलिक्लिनिक र क्लिनिकहरूमा मंगलबार संयुक्त अनुगमन गरी कानुनी प्रक्रिया पूरा नगरी सञ्चालनमा रहेका केही संस्थामाथि कारबाही गरिएको छ।
जनस्वास्थ्य कार्यालय, मेलम्ची नगरपालिका र इलाका प्रहरी कार्यालय मेलम्चीको सहभागितामा गरिएको अनुगमनमा इन्द्रावती डेन्टल क्लिनिक प्रा.लि. र जुगल डेन्टल क्लिनिकलाई अनुमति तथा मापदण्ड नपुगेको कारण पूर्ण रूपमा बन्द गरिएको जनाइएको छ।
त्यस्तै, विनायक पोलिक्लिनिकको नाममा सेवा दिइरहेको र हाल विनायक फार्मेसीका रूपमा सञ्चालन हुँदै आएको संस्थाले अवैध रूपमा ल्याब र डेन्टल सेवा सञ्चालन गरेको भेटिएकाले सो सेवा बन्द गराइएको हो।
मेलम्ची पोलिक्लिनिक प्रा.लि. ले आवश्यक मापदण्ड नपुगेको कारण ३० दिने म्याद पाएको छ भने शिव शक्ति स्वास्थ्य क्लिनिकमा मापदण्ड विपरीत सञ्चालन भइरहेका ल्याब र एक्स–रे सेवा रोक्का गरिनुका साथै शंकास्पद स्वास्थ्य सामग्री जफत गरिएको छ।
जनस्वास्थ्य कार्यालयका प्रमुख दुर्गा बजगाईंका अनुसार जनस्वास्थ्य ऐन २०७५ तथा सम्बन्धित नियमावलीका प्रावधानअनुसार मापदण्ड नपुर्ने संस्थामाथि आवश्यक कानुनी कारबाही अघि बढाइनेछ। उनले स्वास्थ्य सेवासँग खेलवाड गर्नेलाई कुनै पनि हालतमा छुट नदिइने चेतावनी पनि दिए। अनुगमन टोलीले आगामी दिनमा जिल्लाभर स्वास्थ्य संस्थामाथि निगरानी अझ कडाइका साथ गर्ने तयारी गरिरहेको जनाएको छ।