काठमाडौँ । आज विश्व हात धुने दिवस नेपालमा पनि विविधि कार्यक्रम गरी मनाइँदै छ । नेपालमा सन् २००८ अक्टोबर १५ देखि विश्व हात धुने दिवस मनाइँदै आइएको छ ।
साबुनपानीले मिचीमिची हात धुने बानीले श्वासप्रश्वासजन्य एवं निमोनिया सङ्क्रमण तथा झाडापखालामा कमी ल्याउन र जीवाणुद्वारा लाग्ने रोगबाट पनि बच्न सकिने तथ्य विभिन्न अध्ययनहरूले देखाएका छन् ।
हात धुने दिवसको अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादवले स्वच्छता नै स्वास्थ्यको आधार भएकाले नियमित हात धुनु कुपोषण, स्वास्थ्य समस्या तथा अन्य रोगहरूको न्यूनीकरणमा सहायक हुने बताए। उपराष्ट्रपति यादवले नियमित हात धुँदा विभिन्न रोगको जोखिम कम हुनुका साथै यसले सामाजिक लाभ, आर्थिक बचत र दीर्घकालीन स्वास्थ्य सुरक्षाको सुनिश्चितता प्रदान गर्ने बताए।
चिकित्सकहरुका अनुसार शौचालय प्रयोग गरेपछि, बालबालिकाको दिसा धोएपछि, हात फोहर भएपछि, खाना बनाउनु, खाना खानु र खुवाउनु अगाडि, अनुहार, नाक, मुख, आँखा छोइसकेपछि, बाहिरबाट घर फर्किएपछि साबुनपानीले नियमित हात धुने बानी विकास गर्नुपर्दछ । साथै बालबालिकालाई घरमा नै साबुनपानीले हात धुने बानी बसाल्नुपर्दछ ।
जीवाणु ९ब्याक्टेरिया० र विषाणु ९भाइरस०जन्य रोग लाग्नबाट रोक्ने र जीवन बचाउने सजिलो, प्रभावकारी र किफायती तरिका साबुनपानीले हात धुनु हो । साबुनपानीले हात धुँदा कीटाणुहरूबाट मुक्ति पाउनुका साथै आफूलाई र आफ्ना वरपरका मानिसलाई बिरामी हुनबाट जोगाउन सकिने बताइएको छ ।।