गण्डकी । कास्कीको पोखरा महानगरपालिकामा यस वर्ष डेङ्गु सङ्क्रमण दर उल्लेख्य रूपमा घटेको छ। गत वर्ष झन्डै नौ हजार जना संक्रमित भए पनि यस वर्ष हालसम्म पाँच सय ५४ जनामा मात्र डेङ्गु देखिएको महानगरको स्वास्थ्य महाशाखाले जनाएको छ।
जनस्वास्थ्य निरीक्षक राजेन्द्र रेग्मीका अनुसार समयमै अपनाइएको पूर्वतयारी, समुदायको सजगता र सरसफाइ अभियानले संक्रमण नियन्त्रणमा मद्दत गरेको हो।
प्रदेश जनस्वास्थ्य कार्यालयका प्रमुख रामबहादुर नेपालीले डेङ्गु सङ्क्रमण गत वर्षको तुलनामा झन्डै ७५ प्रतिशतले घटेको बताए। उनका अनुसार मौसम प्रतिकूल पर्नु र पुराना टायरलगायत लामखुट्टेका वासस्थान नष्ट गर्न गरिएको प्रयास पनि प्रभावकारी भएको हो।
पोखरा महानगरले विद्यालय र समुदायस्तरमा सचेतना अभियान चलाएको र डेङ्गु परीक्षणका लागि ‘किट’ तथा स्वास्थ्यकर्मी अभिवृद्धिमा ध्यान दिएको जनाएको छ। अधिकारीहरूका अनुसार अब जाडोयाम सुरु हुन लागेकाले डेङ्गुको जोखिम थप घट्ने अनुमान गरिएको छ।