गलकोट (बागलुङ) । बागलुङ जिल्लामा स्वास्थ्य बिमा कार्यक्रमप्रति जनताको आकर्षण बढ्दै गएको छ । हालसम्म जिल्लाका ४५ हजार ३९५ परिवारका एक लाख ४१ हजार ५०९ जना यस कार्यक्रममा सूचीकृत भएका छन् ।
स्वास्थ्य बिमा कार्यक्रम विसं २०७३ असारदेखि जिल्लामा लागू गरिएको हो । गत वर्षको तुलनामा यस वर्ष १५ हजार बढी नागरिक बिमामा आबद्ध भएका छन् ।धौलागिरि अस्पताल, बागलुङ नगर अस्पताल, गलकोट नगर अस्पताल, जैमिनी नगर अस्पताल र ढोरपाटन नगर अस्पतालमार्फत बिमाको सेवा उपलब्ध गराइँदै आएको छ । बिमितको संख्या बढेसँगै हाल बडिगाड आधारभूत अस्पताललाई समेत प्रथम सेवाविन्दुमा समावेश गरिएको स्वास्थ्य बिमा बोर्ड बागलुङका संयोजक नारायणप्रसाद पौडेलले जानकारी दिए।
उनका अनुसार हालसम्म बिमामा आबद्धमध्ये ७४ हजार ६०२ महिला र ६६ हजार ९०३ पुरुष रहेका छन् । पौडेलले भने, “स्वास्थ्य बिमामा आबद्ध भएपछि निःशुल्क एक लाखसम्मको उपचार पाइनुले नागरिकको रुचि बढेको हो ।”
दुई लाख ४९ हजार २११ जनसंख्या रहेको बागलुङमा आधाभन्दा बढीले स्वास्थ्य बिमा गरिसकेका छन् । विदेश पलायन दर उच्च भए पनि जिल्लामा बसोबास गर्ने अधिकांशले स्वास्थ्य बिमा गर्ने प्रवृत्ति बढाएको पौडेलको भनाइ छ ।
कार्यक्रमअनुसार पाँच जनासम्मको परिवारका लागि वार्षिक रु ३५०० तिरेर एक वर्षसम्म एक लाख रुपैयाँसम्मको निःशुल्क उपचार सुविधा पाइन्छ । पाँचभन्दा बढी सदस्य भएका परिवारले प्रत्येक अतिरिक्त सदस्यका लागि रु ७०० थप तिर्नुपर्छ । स्वास्थ्य बिमा दर्ता कर्मचारी सरिता शर्माका अनुसार बिमा गरेपछि निजी क्लिनिकभन्दा सरकारी अस्पताल र स्वास्थ्य संस्थामा उपचार गराउनेको संख्या पनि उल्लेख्य रूपमा बढेको छ ।