काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले बीमित व्यक्तिहरूले उपचारका क्रममा रिफर (प्रेषण) प्रक्रियामा भोग्नुपरेका समस्या समाधानका लागि नयाँ व्यवस्था लागू गरेको छ । यहि असोज २७ गते कार्यकारी निर्देशकस्तरको निर्णय अनुसार, बीमितको उपचार सहज बनाउन विभिन्न नयाँ प्रावधान कार्यान्वयनमा ल्याइएका छन् ।
बोर्डका अनुसार अब क्यान्सर, मुटु, मृगौला, हेड इन्जुरी, स्पाइनल इन्जुरी, सिकलसेल एनिमिया, पार्किन्सोनिजम, अल्जाइमरजस्ता कडा रोगका बिरामीलाई प्रथम सेवा विन्दुबाट एक पटक मात्र रिफर गरिएपछि सोही अस्पतालमा फलोअपका लागि पुनः रिफर लिनु नपर्ने भएको छ ।
त्यस्तै, अति गरिब, अपाङ्गता भएका, कुष्ठरोगी, एचआईभी सङ्क्रमित, जटिल क्षयरोगी, ७० वर्षमाथिका जेष्ठ नागरिक र महिला स्वास्थ्य स्वयंसेविकाले पनि एक पटक रिफरपछि फलोअपमा पुनः रिफर लिनु नपर्ने व्यवस्था गरिएको छ ।
गर्भवती, सुत्केरी (C/S सहित), आँखा सम्बन्धी जटिल समस्या, दम र मानसिक रोग (जस्तै स्किजोफ्रेनिया, बाइपोलर डिसअर्डर) का बिरामीका हकमा पनि सोही सुविधा लागू हुने बोर्डले जनाएको छ ।
त्यस्तै, एउटै रोगको फलोअप वा आकस्मिक सेवा पछि पुनः उपचार गर्न जाँदा नयाँ रिफर आवश्यक नपर्ने व्यवस्था गरिएको छ । यदि उपचारकै क्रममा अर्को रोगको निदान गर्नुपर्ने अवस्था आयो भने सोही अस्पतालभित्रै अर्को विभागमा ‘इन्टर डिपार्टमेन्टल रिफर’ गरी सेवा उपलब्ध गराइनेछ ।
बोर्डले भनेको छ, “यदि सोही विभागबाट पुनः फलोअप गर्नुपर्ने भयो भने मात्रै नयाँ रिफर आवश्यक पर्छ।” साथै, कुनै अस्पतालमा सेवा अपुग भएमा नजिकैको अर्को अस्पतालमा पनि प्रेषण गर्न सकिने व्यवस्था मिलाइएको छ । शारीरिक रूपमा कमजोर, फरक क्षमता भएका व्यक्ति तथा जेष्ठ नागरिकका लागि सहज र पहुँचयुक्त सेवाको सुनिश्चितता गर्न अस्पतालहरूलाई निर्देशन दिइएको छ ।
बोर्डले अस्पतालहरूलाई बिरामीको प्रेस्क्रिप्सनमा फलोअपको सम्भावित मिति अनिवार्य उल्लेख गर्न र प्रत्येक पटक क्लेम गर्दा पहिलो प्रेषण नम्बर समावेश गर्न पनि निर्देशन दिएको छ ।
