वीरगञ्ज । पर्सा जिल्लामा हैजाविरुद्धको खोप अभियानप्रति जनसहभागिता उल्लेख्य देखिएको छ । अभियान सुरु भएको चार दिनमै २ लाख ८७ हजार ४ सय ३५ जनाले खोप लिइसकेका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय पर्साका अधिकृत जयमोद ठाकुरका अनुसार आइतबारदेखि बुधबारसम्म वडास्तर र विद्यालयमार्फत अभियानलाई तीव्रता दिइँदै आएको छ । उहाँका अनुसार तिहार र छठ पर्वअघि अभियान पूरा गर्ने लक्ष्य राखिएको छ । “ग्रामीण क्षेत्रमा अधिकांशले खोप लिइसकेका छन्, सहरी क्षेत्रमा भने व्यस्तताका कारण केही ढिलाइ भइरहेको छ,” ठाकुरले बताउनुभयो ।
पर्सामा आइतबारदेखि सुरु गरिएको यो अभियान अन्तर्गत एक वर्षमाथिका सबै व्यक्तिलाई इयूभिकोल–एस खोप दिइँदैछ । १४ वटै स्थानीय तहमा अभियान सञ्चालन भइरहेको छ भने छिमेकी बाराका वीरगञ्जसँग जोडिएका ६ पालिकामा समेत खोप वितरण जारी छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हैजा नियन्त्रणका लागि अन्तर्राष्ट्रिय समन्वय समूह (आईसीजी) मार्फत खोप माग गरी, परिवार कल्याण महाशाखाको नेतृत्वमा विश्व स्वास्थ्य सङ्गठन (WHO) र युनिसेफको प्राविधिक सहयोगमा यो अभियान सञ्चालन गरेको हो ।
अभियान अन्तर्गत पर्साका ६ लाख ५२ हजारभन्दा बढी जनालाई खोप दिने लक्ष्य राखिएको छ । १४ पालिकामा १ हजार ९ सय ५० खोप केन्द्र स्थापना गरिएको छ, जसमा विद्यालय, मन्दिर, मस्जिद, उद्योग, सीमा नाका र कार्यालयहरू समेत समावेश छन् ।
कुल १ हजार ८ सय ९४ जनशक्ति (१ हजार ५ सय ४४ महिला स्वास्थ्य स्वयंसेविका र ३५० स्वास्थ्यकर्मी) परिचालन गरिएको छ । पर्सा र बाराका लागि १० लाख १८ हजार १ सय डोज खोप उपलब्ध गराइएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
गत भदौ ६ गते पहिलो पटक वीरगञ्जमा तीन जनामा हैजा पुष्टि भएको थियो । हालसम्म १ हजार ५ सय ६७ जनामा झाडापखाला र हैजाको लक्षण देखिएको र तीमध्ये २ सय २७ जनामा हैजा पुष्टि भएको कार्यालयले जनाएको छ ।
स्वास्थ्यकर्मीका अनुसार इयूभिकोल–एस खोपको एक मात्रा खुवाएको दुई सातापछि ८२ प्रतिशत प्रभावकारी हुने भएकाले यो अभियानले हैजा नियन्त्रणमा निर्णायक भूमिका खेल्ने अपेक्षा गरिएको छ ।